दाङको राप्ती गाउँपालिकाले करारमा कार्यरत कर्मचारी र गाउँपालिका अनुदानका शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ।
पालिकाले विभिन्न शाखा तथा कार्यालयमा करार सेवामा कार्यरत ६९ जना कर्मचारी र गाउँपालिका अनुदानमा विभिन्न सामुदायिक विद्यालयमा अध्यापनरत १ सय ११ जना शिक्षक गरी १ सय ८० जनालाई सामाजिक सुरक्षा कोषमा समेटेको हो।
गाउँपालिकाका अनुसार कर्मचारी तथा शिक्षकले पाउने पारिश्रमिकको ६० प्रतिशतलाई आधार मानेर ११ प्रतिशत योगदान उनीहरूबाट र २० प्रतिशत गाउँपालिकाबाट हुने गरी जम्मा ३१ प्रतिशत योगदान सामाजिक सुरक्षा कोषमा जम्मा हुनेछ।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले करार कर्मचारी र अनुदान शिक्षकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउनु स्थानीय सरकारको जिम्मेवारी भएको बताउनुभयो। उहाँले कर्मचारी तथा शिक्षकको सेवा सुरक्षासँगै भविष्यको सामाजिक सुरक्षालाई ध्यानमा राखेर यो व्यवस्था गरिएको बताउनुभयो।
"करारमा काम गर्ने कर्मचारी र गाउँपालिका अनुदानका शिक्षक पनि पालिकाको सेवा प्रवाहका महत्वपूर्ण जनशक्ति हुन्। उनीहरूको सेवा अवधिको सुरक्षा र भविष्यप्रतिको सुनिश्चितताका लागि सामाजिक सुरक्षा कोषमा आबद्ध गराएका हौँ," अध्यक्ष विष्टले भन्नुभयो, "यसले कर्मचारी र शिक्षकको मनोबल बढाउनुका साथै पालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ।"